धनगढी: ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात गर्दै राष्ट्र र जनताको सेवामा समर्पित सशस्त्र प्रहरी बल नेपालअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका–६ मा रहेको बडिमालिका जवान तालिम शिक्षालयले आफ्नो स्थापना भएको २५ वर्ष पूरा गरेको छ । एक चौथाइ शताब्दीको यात्रामा शिक्षालय सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण सुरक्षा प्रशिक्षण केन्द्रका रूपमा स्थापित भएको छ ।
तत्कालीन विषम सुरक्षा परिस्थितिमा देशमा शान्ति सुव्यवस्था कायम गर्दै नागरिकको जीउधन, स्वतन्त्रता र राष्ट्रिय सुरक्षाको संरक्षण गर्ने उद्देश्यले विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बल नेपालको स्थापना गरिएको थियो । त्यसको एक वर्षपछि, विसं २०५८ बैसाख २४ गते सुदूरपश्चिम प्रदेशमा जवान तालिम, विपद् व्यवस्थापन, गोताखोर तथा दंगा नियन्त्रणसम्बन्धी विशेष तालिम सञ्चालन गर्ने उद्देश्यसहित बडिमालिका गण स्थापना गरिएको थियो ।
समयसँगै उक्त गण अहिले ‘बडिमालिका जवान तालिम शिक्षालय’का रूपमा रुपान्तरण भई सशस्त्र प्रहरी बलका जवान उत्पादन गर्ने महत्वपूर्ण प्रशिक्षण केन्द्र बनेको छ । स्थापना कालदेखि हालसम्म शिक्षालयले ३ हजार २ सय २ जना सशस्त्र प्रहरी कर्मचारीलाई विभिन्न प्रकारका तालिम प्रदान गरिसकेको छ । हाल सञ्चालन भइरहेको आधारभूत तालिममा मात्रै ३ सय ३३ जना प्रशिक्षार्थी सहभागी रहेका छन् । शिक्षालयका समादेशक सूर्यबहादुर सेन ओलीका अनुसार शिक्षालयले आधारभूत तालिमसँगै सशस्त्र प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि, व्यावसायिक दक्षता, नेतृत्व विकास तथा सुरक्षा व्यवस्थापनसम्बन्धी विविध तालिम नियमित रूपमा सञ्चालन गर्दै आएको छ । उनका अनुसार बदलिँदो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आधुनिक प्रविधिमा आधारित व्यावसायिक तालिमलाई प्राथमिकता दिइएको छ ।
२५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम थापाले शिक्षालयको योगदानको उच्च प्रशंसा गरे । उनले सशस्त्र प्रहरी बल नेपाल राज्यले दिएको जिम्मेवारी कार्यान्वयनमा सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै समयअनुकूल तालिममार्फत दक्ष र अनुशासित जनशक्ति उत्पादनमा शिक्षालयले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले राष्ट्रको सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउन व्यावसायिक र व्यवहारिक तालिम अपरिहार्य रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनदेखि सीमासुरक्षा र आन्तरिक सुरक्षासम्म सशस्त्र प्रहरी बलको भूमिका दिनप्रतिदिन विस्तार भइरहेको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नम्बर ७ बैद्यनाथ बाहिनीका निमित्त प्रमुख दिग विजय सुवेदी, गौरीगंगा नगरपालिकाका मेयर देवीदत्त कँडेल लगायत सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । हाल शिक्षालयमा सशस्त्र प्रहरी जवानलाई ब्यारेक प्रणाली, पीटी, परेड, हतियार प्रयोग, अनुशासन, भीड नियन्त्रण तथा सुरक्षा व्यवस्थापनसम्बन्धी आधारभूत र व्यावहारिक प्रशिक्षण प्रदान गरिँदै आएको छ । साथै विपद् उद्धार, दंगा नियन्त्रण र आपत्कालीन परिस्थितिमा प्रभावकारी रूपमा परिचालन हुन सक्ने दक्ष जनशक्ति तयार पार्ने कार्यमा शिक्षालय सक्रिय रहेको छ ।


