महेन्द्रनगर: बिहीबार कञ्चनपुरको लालपुरमा जिपको ठक्करबाट ज्यान गुमाएका युवकद्वय दानसिंह धामी र राम लुहारका घरपरिवार आन्दोलित भएका छन्। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बेदकोट नगरपालिका– ७, लालपुर क्षेत्रमा से.१च १४०५ नम्बरको जिपको ठक्करबाट म.२प ३५०६ नम्बरको मोटरसाइकलमा सवार बाराकुण्डामा ४२ वर्षीय दानसिंह धामी र ४० वर्षीय राम लुहारको मृत्यु भएको थियो ।
मृतकका आफन्त शुक्रबार बिहानैदेखि पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत भाँसी क्षेत्रमा चक्काजाम गरेर न्याय माग्दै सडकमा उत्रिएका हुन् । उनीहरू घटना भएकै दिनदेखि दोस्रो दिनसम्म पनि सवारीधनी सम्पर्कमा नआएपछि आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले घटना रहस्यमय भएकाले सत्यतथ्य छानबिन गरिदिनुपर्ने, घटना भएपछि उद्धार, उपचारमा समेत लापरबाही गरेको गुनासो गरेका छन् । पीडितहरूको आन्दोलनका कारण महेन्द्रनगरदेखि अन्य गन्तव्य र अन्य स्थानदेखि छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आउन नसक्दा यात्रु प्रभावित भएका छन् । पीडितले माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
दुवैको शव महाकाली अस्पतालमा राखिएको छ भने चालक सुनील चौधरीलाई नियन्त्रणमा लिइएको छ । कञ्चनपुर प्रहरीले घटनाको छानबिनका साथै पीडितदेखि सवारीधनीबिच छलफल वार्ता गराउने जनाएको छ । पछिल्ला दिनहरूमा सडक दुर्घटनामा परेर अकालमै मानिसले ज्यान गुमाउनुपरेको छ ।

