धनगढी: नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार यज्ञराज ढुङ्गानाले आफू निर्वाचनमा जितको निकै नजिक पुगेको दाबी गरेका छन्। प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी सङ्गठन, कार्यकर्ता र आम मतदाताबाट उत्साहजनक समर्थन प्राप्त भइरहेको बताए। ‘घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । जनताले मलाई रुचाएका छन्। म जितको निकै नजिक छु,’ उनले भने।
ढुङ्गानाले युवा उम्मेदवारका रूपमा आफूलाई अघि सारिएको उल्लेख गर्दै यसले ऊर्जा, नवीन सोच र परिणाममुखी कार्यशैलीको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे।
स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकता
उनले स्वास्थ्य क्षेत्रलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको बताए। सेती प्रादेशिक अस्पताल लाई स्तरोन्नति गरी सङ्घअन्तर्गत ल्याउने, आवश्यक जनशक्ति थप गर्ने र सेवाग्राहीले समयमा उपचार पाउने वातावरण बनाउने योजना रहेको उनले बताए। ‘अस्पतालमा बिरामीले समयमा उपचार पाउन सकिरहेका छैनन्, त्यसलाई सुधार गर्न म पहल गर्छु, ’ उनले भने। त्यस्तै सहिद दशरथचन्द विश्वविद्यालय मा स्वास्थ्य शिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा समग्र शैक्षिक सुधार गर्ने योजना रहेको जानकारी दिए। परम्परागत शिक्षा प्रणालीको अन्त्य गर्दै प्राविधिक र सूचना प्रविधि (आईटी) शिक्षालाई पाठ्यक्रममै समावेश गरी डिजिटल समाज निर्माण गर्ने लक्ष्य लिएको उनले बताए।
सुशासन र भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता
ढुङ्गानाले जनताले सुशासन र भ्रष्टाचारमुक्त समाज चाहेको उल्लेख गर्दै आफू कुनै पनि प्रकारको अनियमिततामा संलग्न नहुने प्रतिबद्धता व्यक्त गरे। ‘जुन दिन म अनियमिततामा संलग्न हुन्छु, त्यही दिन राजीनामा दिन तयार छु, ’ उनले स्पष्ट पारे। खेलकुदलगायत विभिन्न क्षेत्रमा देखिएको भ्रष्टाचार नीतिगत सुधारमार्फत रोक्ने उनको भनाइ छ। स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पतालमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको उल्लेख गर्दै त्यसलाई सुधार गर्ने प्रतिबद्धता पनि उनले जनाए।
कृषि, श्रमिक र उद्योगमा सुधारको योजना
किसानहरूले समयमा मल, बीउ र सिँचाइ सुविधा नपाएको गुनासो समाधान गर्न नीतिगत सुधार आवश्यक रहेको उनले बताए। दैनिक ज्यालादारी मजदुरको पारिश्रमिक वृद्धि गर्न पहल गर्ने उनको भनाइ छ। रोजगारी सिर्जनाका लागि स्वदेशी तथा विदेशी उद्योग विस्तारमा जोड दिँदै उद्योग स्थापना गर्न निःशुल्क जग्गा उपलब्ध गराउने योजना अघि सारे। ‘उद्योग विस्तार भए रोजगारी बढ्छ र आर्थिक समृद्धि सम्भव हुन्छ’ उनले भने।
कांग्रेससँग मुख्य प्रतिस्पर्धा
चुनावी प्रतिस्पर्धा मुख्यतः नेपाली कांग्रेस सँग हुने उनले बताए। विगतको निर्वाचनमा पाँच दलीय गठबन्धनसँग झिनो मतले पराजित भएको उल्लेख गर्दै यसपटक दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएकाले परिणाम फरक आउने दाबी गरे। ‘हाम्रो सङ्गठन बलियो छ। पहिले पाँच दल मिल्दा पराजित भएका थियौँ, अहिले हामी बहुमत सिट जित्छौँ,’ उनले भने। आर्थिक प्रलोभनभन्दा योजना र दृष्टिकोणका आधारमा मत दिन मतदातालाई आग्रह गर्दै उनले निर्वाचनपछि प्रत्येक तीन महिनामा जनतासँग प्रत्यक्ष भेटघाट गर्ने प्रतिबद्धता व्यक्त गरे। पार्टीभित्र कुनै विवाद नरहेको उनको दाबी थियो ।


