धनगढी — मतदानको दिन नजिकिँदै जाँदा कैलाली क्षेत्र नम्बर २ को निर्वाचन प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । प्रतिस्पर्धा बढेपछि उम्मेदवारहरूले चुनावी रणनीतिसमेत फेरबदल गरेका छन् । हालसम्म घरदैलोमा जोड दिएका उनीहरूले यतिबेला संगठन संरचना भएका आफ्नो पार्टी समर्थक मतहरू जोगाउने कसरतमा केन्द्रित भएका छन् । अर्कोतिर पहिलो पटक चुनावी मैदानमा उम्मेदवार खडा गरेका दलहरूले पुराना पार्टी समर्थित मत जतिसक्दो आफूतिर खिच्ने रणनीतिमा केन्द्रित भएका छन् । यस निर्वाचन क्षेत्रमा एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी संगठन संरचना भएका पुराना पार्टी हुन् । यी पार्टीहरूलाई पहिलो पटक उम्मेदवार उठाएका नयाँ दल रास्वपा र नागरिक उन्मुक्ति पार्टी ९नाउपा० नेपालले चुनौती दिइरहेका छन् ।
त्यही कारण यस निर्वाचन क्षेत्रका सबै उम्मेदवारले आफू जित्ने बाह्य दाबी गरिरहेका भए पनि आन्तरिक रूपमा भने कोही पनि ढुक्क देखिएका छैनन् । पाँच दलका उम्मेदवार आफ्नो मुख्य प्रतिस्पर्धा कुनै एकसँग मात्र नभएर सबैको सबैसँग चुनौतीपूर्ण प्रतिस्पर्धाको अवस्था रहेको बताउँछन् । एमालेबाट सूर्यबहादुर थापा, कांग्रेसबाट विजय स्वाँर, नेपाली कम्युनिस्ट पार्टीबाट नन्दबहादुर साउँद, राष्ट्रिय स्वतन्त्र पार्टीबाट केपी खनाल, नागरिक उन्मुक्ति पार्टी ९नाउपा० नेपालबाट पतिराम चौधरी मैदानमा छन् । ‘मेरो प्रतिस्पर्धा कुनै एक दलसँग मात्रै आकारमा देखिएको छैन,’ कांग्रेस उम्मेदवार स्वाँरले भने, ‘अन्य सबै उम्मेदवारको अवस्थालाई मध्यनजर गर्दै अघि बढिरहेका छौं ।’
संगठन संरचनाका दृष्टिले कांग्रेस, एमाले र नेकपा स्थापित दलहरू हुन् । तर पनि संगठन नै निर्माण नभएका नयाँ दल रास्वपा र नाउपा नेपालका उम्मेदवारलाई चुनौतीका रूपमा लिएका छन् । यो क्षेत्र थारु मतदाताको बाहुल्य रहेको क्षेत्र हो । तर पनि कांग्रेस, एमालेका उम्मेदवार भने पार्टी संगठन समर्थित मतहरू मात्रै जोगाए पनि जित हुने आकलन गरिरहेका छन् । ‘हाम्रो सम्पूर्ण ध्यान पार्टी समर्थित मत डग्मगाउन नदिनेमा छ,’ कांग्रेस उम्मेदवार स्वाँरले भने, ‘सुरुका दिनमा कांग्रेसभित्र केही समस्या देखिएको भए पनि यतिबेला सबै नेता एकढिक्का भएका छौं । अब हाम्रो मत जोगाएर केही थप्न सक्यौं भने जति पक्का छ ।’ उनले विगतमा यस क्षेत्रमा कायम रहेको भेगीय जातीय पक्षधरता तोडिएर विकासका सवालमा साझा मत निर्माण हुँदै गएको दाबी पनि गरे ।
एमाले उम्मेदवार थापा पनि कांग्रेस उम्मेदवार स्वाँरकै रणनीतिमा छन् । ‘हाम्रो पार्टीको मत छँदैछ, जोगाए पुग्छ,’ उनले भने, ‘हामीले मतदातालाई विश्वास गर्ने प्रस्ट आधार दिएर मत मागिरहेका छौं ।’ नेकपाका उम्मेदवार नन्दबहादुर साउँद समर्थक नेता–कार्यकर्ता भने बाहिरी हल्लाभन्दा पनि भित्री रूपमा मजबुत मत निर्माण गरिरहेको दाबी गर्छन् । रास्वपा उम्मेदवार खनालले रास्वपाप्रतिको लहरले आफ्नो जित निश्चित रहेको दाबी गरिरहेका छन् । ‘मतदातालाई प्रभावित गरेर मत बढाउने उनको शैली प्रभावकारी देखिएको छ,’ खनालसँगै प्रतिस्पर्धामा रहेका एक उम्मेदवारले भने ।
नाउपा नेपालका उम्मेदवार चौधरी आफ्नो समुदायका मत जोगाउन सके मात्रै पनि जित्न सकिने आकलनमा छन् । यस निर्वाचन क्षेत्रमा करिब २६ हजार थारु मतदाता रहेकामा करिब १४ हजार समुदायकै मत आउने चौधरीको आकलन छ । अन्य समुदायका मत गाउँबाहिर भए पनि थारु समुदायका मत भने तुलनात्मक रूपमा गाउँमै रहेको उनको बुझाइ छ । तर कांग्रेस, एमाले, नेकपा, रास्वपाका उम्मेदवार भने गत निर्वाचनमा थारु समुदायबाट प्राप्त विश्वास नाउपाले गुमाएर छिन्नभिन्न भइसकेकाले रेशम चौधरी संरक्षक रहेको नवगठित नाउपा नेपालका उम्मेदवारले सोचजस्तो थारु समुदायको मत एकढिक्का राख्न नसक्ने बुझाइमा छन् । त्यस अवस्थामा थारु समुदायको मत जतिसक्दो तान्ने प्रयासमा अन्य दलका उम्मेदवार छन् ।
एमाले उम्मेदवार थापा कृषि र पर्यटन विकासका माध्यमद्वारा पाँच हजार जनशक्तिलाई रोजगारी सिर्जना गर्ने वाचा गरेको बताउँछन् । उनले भने, ‘पर्यटन र कृषिको नेटवर्क चेनमा एक घर एक युवालाई रोजगारीमा जोड्न गाह्रै छैन ।’ कांग्रेस उम्मेदवार विजय स्वाँर यस क्षेत्रका मतदाताले पूर्वाधार विकास निर्माणका मागहरू अत्यधिक रूपमा राख्ने गरेको बताउँदै आफूले कृषि क्षेत्रको आधुनिकीकरणमा लैजान प्रमुख आवश्यकता देखेको बताउँछन् । रास्वपा उम्मेदवार खनाल भ्रष्टाचार नियन्त्रण, सुशासन र युवा स्वरोजगारी आफ्नो मुख्य उद्देश्य भएको बताउँछन् । नेकपाका उम्मेदवार साउँद सेती लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर काम गर्न पहल गर्ने बताउँछन् । उनी पूर्वाधार विकासअन्तर्गत बौनिया–खिमडी सडक खण्ड स्तरोन्नति, चिसापानीदेखि महेन्द्रनगरसम्म चार लेन सडक निर्माण, थारु सांस्कृतिक संग्रहालय स्थापनामा जोडबल गर्ने बताउँछन् । नाउपा नेपालका उम्मेदवार पतिराम चौधरीले युवा लक्षित स्वरोजगार कार्यक्रम लागू गर्ने दाबी गरे ।
यस क्षेत्रमा ०७९ को निर्वाचनमा समानुपातिकतर्फ साबिक नागरिक उन्मुक्ति पार्टीले १९ हजार ५ सय ९७, एमालेले १२ हजार ८ सय १८, कांग्रेसले १० हजार १ सय ७९, माओवादी केन्द्रले ७ हजार १ सय ६९, रास्वपाले ४ हजार ५४ र राप्रपाले २ हजार ५ सय ९६ मत पाएको थियो भने नेकपा एकीकृत समाजवादीले ६ सय ८९ मत ल्याएको थियो । यस निर्वाचन क्षेत्रमा १६ वटा राजनीतिक दलले उम्मेदवारी दिएका छन् । महोन्याल गाउँपालिका, लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका र जानकी गाउँपालिका यस निर्वाचन क्षेत्रमा पर्छन् । यहाँ १ लाख ७ हजार ७ सय ५५ मतदाता छन् ।


