धनगढी – आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा धनगढीको चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। विशेषगरी कैलाली जिल्ला क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुगांना व्यापक चुनावी अभियानमा सक्रिय छन्। ढुगाना २०५१ साल र २०७४ सालको ‘बिरासत’ फर्काउने दाउमा चुनावी मैदानमा उत्रिएका छन्। नेकपा एमालेले उनलाई नयाँ अनुहारका रूपमा अघि सारेको भए पनि उनको पक्षमा लामो राजनीतिक अनुभव बोकेका नेताहरू खुलेर लागेका छन्। युवा उम्मेदवार र पाका तथा अनुभवी नेताहरूको संयोजनले उनको चुनावी अभियान थप सशक्त बनेको देखिन्छ।
तीन पूर्व सांसदको साथ
ढुगांनाको चुनावी अभियानको कमाण्डरका रूपमा पूर्व सांसद नारदमुनी राना खटिएका छन्। राना २०७४ सालको निर्वाचनमा आरजु राणा देउवालाई पराजित गरेर चर्चामा आएका नेता हुन्। रानाको रणनीतिक नेतृत्वले ढुगानाको चुनावी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाएको एमाले वृत्तमा चर्चा छ।
त्यसैगरी, वर्तमान राष्ट्रियसभा सदस्य लिला भण्डारी पनि ढुगांनाको पक्षमा सक्रिय रूपमा प्रचारप्रसारमा जुटेकी छन्। भण्डारी २०६४ सालमा तत्कालीन माओवादीबाट उम्मेदवार बनेर संविधानसभा सदस्य निर्वाचित भएकी नेतृ हुन्। उनको सक्रिय सहभागिताले ढुगांनाको अभियानलाई थप ऊर्जा दिएको समर्थकहरू बताउँछन्।
त्यस्तै, २०५१ सालमा तत्कालीन कैलाली क्षेत्र नम्बर ४ (हालको कैलाली–५) बाट विजयी भएका महेश्वर पाठक पनि ढुगांनाको प्रचार अभियानमा सक्रिय छन्। तीन पूर्व सांसदहरूको समर्थनले ढुगांनालाई संगठनात्मक र राजनीतिक रूपमा बलियो आधार प्राप्त भएको विश्लेषण गरिँदैछ।
अनुभवी नेतृत्वको समर्थन
ढुगांनाको चुनावी अभियानमा धनगढी उपमहानगरपालिकाका पूर्व मेयर खेमराज पाण्डेय, प्रदेशसभा सदस्य धर्मराज पाठक तथा एमाले प्रदेश सचिव रणबहादुर चन्दलगायत नेताहरू पनि सक्रिय छन्।
लामो राजनीतिक अनुभव भएका नेताहरूको उपस्थितिले चुनावी रणनीति निर्माणदेखि मतदाता भेटघाटसम्म अभियानलाई व्यवस्थित बनाएको छ। स्थानीय तहदेखि संघीय तहसम्म अनुभव संगालेका नेताहरूको साथले ढुगांना उत्साहित देखिएका छन्। घरदैलो, टोलसभा र विभिन्न अन्तरक्रिया कार्यक्रममार्फत उनी मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्।
युवा ऊर्जा र अनुभवको संयोजन
एमालेले नयाँ अनुहारलाई अघि सारे पनि पुराना तथा अनुभवी नेताहरूको बलियो साथले कैलाली–५ को चुनावी प्रतिस्पर्धा रोचक बनेको छ। युवा जोश र अनुभवी नेतृत्वको संयोजनले ढुगांनाको जित सहज हुने दाबी समर्थकहरूले गरेका छन्। अब मतदाताको निर्णयले कैलाली–५ को राजनीतिक समीकरण कता मोडिन्छ भन्ने चासो बढ्दै गएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा यहाँको चुनावी सरगर्मी अझै तीव्र हुने देखिन्छ।


