कञ्चनपुर — कञ्चनपुर क्षेत्र नम्बर ३ मा कांग्रेसबाट प्रायजसो रमेश लेखक नै उम्मेदवार हुने गरेका थिए । २०५६ देखि संसदीय यात्रामा रहेका लेखक त्यसयता पहिलो संविधानसभाबाहेकका सबै निर्वाचन यस क्षेत्रबाट लडेका थिए। त्यतिबेला कांग्रेसका तत्कालीन वरिष्ठ नेता शेरबहादुर देउवा यस क्षेत्रबाट उठेका थिए भने लेखक समानुपातिकबाट निर्वाचित भएका थिए । यस पटक भने क्षेत्र नम्बर ३ मा कांग्रेसबाट लेखक उम्मेदवार छैनन् ।
उनको सट्टामा कांग्रेसले हरिप्रसाद बोहोरालाई उम्मेदवार बनाएको छ । पूर्वजिल्ला सभापति समेत रहेका बोहोरा पहिलो पटक निर्वाचनमा होमिएका हुन् । एमालेबाट यो क्षेत्रमा डा. दिपकप्रकाश भट्ट उम्मेदवार छन् । एमालेमा नेता भट्ट २०७४ को निर्वाचनमा कांग्रेसका लेखकलाई पराजित गरेर पहिलो पटक सांसद भएका थिए । २०७९ मा एमालेले निरुदेवी पाललाई उम्मेद्वार बनाएको थियो । उक्त क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले मानबहादुर सुनारलाई उम्मेदवार बनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व कृषि राज्यमन्त्री समेत रहेका सुनार २०७४ मा क्षेत्र नम्बर ३ ९२० बाट प्रदेशसभामा निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञानेन्द्र महतालाई उम्मेदवार बनाएको छ ।
क्षेत्र नम्बर ३ मा महाकाली पारीको दोधारा चाँदनी नगरपालिकासँगै भीमदत्त नगरपालिका र बेदकोट नगरपालिका वडा ८ पर्दछ । यहाँ ५० हजार ४८७ पुरुष र ५२ हजार ६ सय महिला गरी जम्मा १ लाख ३ हजार ८७ मतदाता रहेका छन् । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट कांग्रेस नेता लेखक ३० हजार ५७५ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला एमालेकी निरुदेवी पालले १८ हजार ४८५ मत पाएकी थिइन् । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा लेखक एमालेका दिपकप्रकाश भट्टसँग झिनो मतले पराजित भए । भट्टले २६ हजार ३६४ मत प्राप्त गरेका थिए भने लेखकले २६ हजार १ सय ६ मत पाएका थिए ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि अवस्था फेरिएको छ । प्रायस् कांग्रेस र एमालेकै उम्मेदवार विजयी भएको यस क्षेत्रबाट यसपटक कसले बाजी मार्ला भन्ने धेरैको जिज्ञासा छ । विगतमा गरेका काम र दलको उपस्थितिका आधारमा सबैले आ–आफ्नो जीतको दाबी प्रस्तुत गरिरहेका छन् । कांग्रेस उम्मेदवार बोहराले विगतमा कांग्रेसले यस क्षेत्रमा गरेको विकास निर्माणका आधारमा मतदाताले आफूलाई रुचाउने दाबी गरे । ‘हामीले यस क्षेत्रमा थुप्रै काम गरेका छौं, अझ पनि त्यसलाई अगाडि बढाइनेछ,’ बोहराले भने, ‘यस क्षेत्रलाई औद्योगिक सँगै पर्यटकीय हिसाबले पनि विकास गरिनेछ ।’
उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जदेखि चुरे फेदमा रहेका तालतलैया र धार्मिक स्थलहरुलाई जोडेर पर्यटन क्षेत्रको विकास गरिने बताए । यसैगरी दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहसँगै महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलले यस क्षेत्रमा औद्योगिक विकासका लागि समेत आफुले पहल गर्ने बताए । ‘विगतमा मन्त्री हुँदा र प्रदेससभा सदस्य भएका बेला मैले धेरै काम गरेको छु, त्यही भएर मतदाताले मलाई रुचाउछन्,’ नेकपाका उम्मेदवार सुनारले भने, ‘विगतमा पनि मैले जनप्रतिनिधि हुँदा आफ्नै लगानीमा विद्यालय, स्वास्थ्य चौकीलगायत बनाएको छु ।’ उनले साविकको दोधारा गाविसको अध्यक्ष भएका बेला आफ्नै लगानीमा हृयुमपाइप हाल्नेदेखि विद्यालय भवन बनाउनेलगायतका काम गरेको बताए ।
दोधारा चाँदनीमा वर्सेनि डुबान र कटानको समस्या भइरहन्छ । महाकाली र जोगबुडा नदीको बाढीले वर्षेनी सयौं परिवार विस्थापित हुने गरेका छन् । भीमदत्त नगरपालिकामा रहेको मझगाउँ विमानस्थल पुनर्निर्माण सुचारु गर्नेदेखि महाकाली करिडोरका लागि पर्याप्त बजेट विनियोजनका लागि आफुले सक्दो पहल गरेका कारण यस क्षेत्रका बासिन्दाले जिताउने एमाले उम्मेदवार भट्ट बताउँछन् । ‘तीनै तहका सरकारको लगानीमा विमानस्थल सञ्चालनका लागि निर्माण कार्य भइरहेको छ, दोधारा चाँदनीमा रहेको हेल्थपोष्टको सुधार भएर शल्यक्रियाको सेवा उपलब्ध भएको छ,’ भट्टले भने, ‘दोधारा चाँदनीलाई त्रिदेशीय नाका बनाउने योजना अनुसार काम भइरहेको छ, यसका लागि मेरो कार्यकालमा महत्वपूर्ण काम भएका छन् ।’
नेकपाका उम्मेदवार सुनार यसअघि प्रदेशसभा सदस्य हुँदै सुदूरपश्चिम प्रदेश सरकारमा राज्यमन्त्री समेत भइसकेका व्यक्ति हुन् । एमालेका भट्ट एक पटक सांसद भइसकेका हुन् । कांग्रेसका बोहरा र रास्वपाका महता भने नयाँ अनुहार हुन् । अहिले सबै उम्मेदवारहरु चुनावी प्रचारका लागि हरेक वडामा सम्पर्क कार्यालय खोल्नेदेखि मतदाता भेट्ने काममा व्यस्त छन् । क्षेत्र नम्बर ३ का लागि निर्णयक मानिने दोधारा चाँदनी क्षेत्रमा सबै उम्मेदवारको ध्यान बढी केन्द्रीत देखिन्छ । यस पटक मुख्य दलमध्येबाट एक जना सोही क्षेत्रबाट उम्मेदवार भएका कारण पनि उक्त क्षेत्रमा उम्मेदवार बढी केन्द्रीत देखिन्छन् ।
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणाधीन अवस्थामा छ । मुख्य दलहरुले अहिले त्यही मुख्य एजेण्डा बनाएका छन् । यसबाहेक महाकालीमा निर्मित चार लेनको पक्की पुल पनि चुनावी एजेण्डा बनेको छ । महाकाली र जोगबुडा नदीको बाढी र कटान रोक्नका लागि सदाझैं यसपटक पनि उम्मेदवारहरुले तटबन्ध निर्माणको विषयलाई उठाएका छन् ।कान्तिपुरबाट


