धनगढी। सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लाले हरेक निर्वाचनमा फरक–फरक राजनीतिक नतिजा दिँदै आएको छ। २०६४ सालदेखि २०७९ सालसम्म सम्पन्न भएका निर्वाचनका परिणाम हेर्दा कैलाली कुनै पनि एक राजनीतिक दलको स्थायी गढ बन्न नसकेको स्पष्ट देखिन्छ। यही कारण आगामी निर्वाचनमा कैलालीले कस्तो परिणाम दिन्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ।
२०६४ सालको संविधानसभा निर्वाचनमा कैलालीमा ६ वटा निर्वाचन क्षेत्र रहेका थिए। सो निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) ले सबै क्षेत्र जित्दै जिल्लामा आफ्नो वर्चस्व कायम गरेको थियो। जनयुद्धपछि आएको राजनीतिक परिवर्तनको लहरले माओवादीलाई बलियो जनसमर्थन दिलाएको विश्लेषण गरिन्छ। तर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले अघिल्लो सफलता दोहोर्याउन सकेन। उक्त निर्वाचनमा माओवादी क्षेत्र नम्बर ४ मा मात्र जित निकाल्दै एक सिटमा सीमित रह्यो। क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विजयी भए भने बाँकी चार क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा फेरि राजनीतिक समीकरण बदलियो। नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले कैलालीका ५ मध्ये ४ निर्वाचन क्षेत्रमा जित निकाल्यो। क्षेत्र नम्बर १ मा भने राष्ट्रिय जनता पार्टीका तर्फबाट रेशमलाल चौधरी विजयी भए। वाम गठबन्धनको बलियो प्रभाव र स्थायित्वको नाराले मतदातालाई आकर्षित गरेको विश्लेषकहरू बताउँछन्। तर २०७९ सालको निर्वाचनले कैलालीको राजनीति फेरि नयाँ मोडमा पुर्यायो। यस निर्वाचनमा एमाले र माओवादीका सबै उम्मेदवार पराजित भए। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले जिल्लाका ३ निर्वाचन क्षेत्रमा जित हात पार्यो भने क्षेत्र नम्बर ४ र ५ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए। यस नतिजाले स्थानीय मुद्दा, पहिचान राजनीति र मतदाताको असन्तुष्टि निर्णायक बनेको संकेत गरेको छ।
२०६४ सालदेखि निरन्तर फरक–फरक चुनावी परिणाम दिँदै आएको कैलालीमा विशेषगरी पहाडी जिल्लाहरूबाट बढ्दो बसाइँसराइ, विविध जातीय संरचना र कुनै पनि दलको स्थायी गढ नहुनु प्रमुख कारण रहेको नागरिक अगुवा खडक जोशी बताउँछन्। “यहाँ हरेक निर्वाचनमा नतिजा फेरिएको छ, यसले कैलालीका मतदाता परिवर्तन खोज्ने खालका छन् भन्ने देखाउँछ,” उनले भने। लगातार फरक–फरक दललाई अवसर दिँदै आएको कैलालीका मतदाताले हरेक निर्वाचनमा अघिल्लो कार्यसम्पादनको मूल्यांकन गर्ने र नयाँ विकल्प रोज्ने प्रवृत्ति देखाएका छन्। राजनीतिक विश्लेषक देवराज अवस्थीले कैलालीमा अहिले नै चुनावी आँकलन गर्न गाह्रो रहेको बताए। “यस पटक कुनै दलबीच ठूला गठबन्धन छैनन्, अघिल्ला निर्वाचनमा राम्रो नतिजा ल्याएका दलहरू पनि विभाजन भएका छन्। त्यसैले यस पटकको परिणाम विगतभन्दा फरक हुन सक्छ,” उनले भने।
करिब दुई दशकको निर्वाचन इतिहास हेर्दा कैलाली जिल्लामा कुनै पनि एक राजनीतिक दलको प्रभुत्व स्थापित हुन सकेको छैन। यही कारण आगामी निर्वाचन पनि अत्यन्त प्रतिस्पर्धात्मक र चासोपूर्ण हुने अनुमान गरिएको छ। विगतका परिणामले संकेत गरेझैँ यस पटक पनि कैलालीले मिश्रित र अप्रत्याशित नतिजा दिन सक्ने सम्भावना बलियो देखिन्छ। कैलालीको निर्णयले सधैंझैँ यस पटक पनि प्रदेश र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।

