धनगढी । नेकपा एमाले कैलालीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गर्ने क्रममा लोकप्रिय नेता सूर्यबहादुर थापाको नाम समावेश नगरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ। पार्टीले झपट रावल, कमला कुमारी ओली र महादेव बजगाईंको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको जनाएको छ। तर लामो समयदेखि क्षेत्रीय राजनीतिमा सक्रिय, कार्यकर्ता र जनतामाझ लोकप्रिय मानिएका सूर्यबहादुर थापाको आकांक्षा हुँदाहुँदै पनि नाम छुटाइएकोप्रति उनका समर्थक तथा शुभेच्छुकहरूले आपत्ति जनाएका छन्।
सूर्य थापासँग निकट स्रोतका अनुसार उनले औपचारिक रूपमा उम्मेदवारीको दाबी प्रस्तुत गरेका थिए। “उहाँको स्पष्ट दाबी हुँदाहुँदै पनि नाम सिफारिस नगरिनुमा हामी सहमत छैनौँ,” स्रोतले भन्यो। क्षेत्रका विकासप्रेमी नेता तथा जनताका सुख–दुःखका साथीका रूपमा परिचित थापाको नाम सिफारिस सूचीमा नपरेपछि समर्थकहरूले सामाजिक सञ्जालमार्फत पार्टी निर्णयप्रति चर्को प्रतिक्रिया जनाइरहेका छन्। यस विषयमा जानकारी लिन क्षेत्रीय समन्वय कमिटी संयोजक धनञ्जय न्यौपानेलाई सम्पर्क गर्दा उनले, “यो कमिटीको निर्णय हो, बाँकी कुरा सचिवसँग बुझ्नुहोस्,” भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे।
समितिका सचिवले भने कमिटीको निर्णय अनुसार प्रक्रिया अघि बढाइएको दाबी गर्दै भने, “कमिटीमा ४८ जना सदस्य सहभागी थियौँ। बहुमत सदस्यबाट आएका नामका आधारमा तीन जनालाई सिफारिस गरिएको हो।” तर समर्थकहरूले पार्टीको निर्णयलाई अपारदर्शी र एकलौटी भन्दै कडा आलोचना गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक गरिएका प्रतिक्रियामा पार्टीको आन्तरिक लोकतन्त्र कमजोर पारिएको, योगदान र जनभावनाको कदर नगरिएको तथा गुटबन्दीका आधारमा सिफारिस गरिएको आरोप लगाइएको छ।
समर्थकहरूले राखेका मुख्य मागहरू यस प्रकार रहेका छन्—
जनभावनाको कदर गर्दै सूर्यबहादुर थापालाई उम्मेदवार बनाइयोस्।
पार्टी विधान विपरीत गरिएको एकलौटी सिफारिस प्रक्रिया खारेज गरियोस्।
कार्यकर्ता र जनताको भावनासँग खेल्ने प्रवृत्ति बन्द गरियोस्।
समर्थकहरूले पार्टी नेतृत्वलाई समयमै निर्णय सच्याउन आग्रह गर्दै अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित कमिटीले लिनुपर्ने चेतावनीसमेत दिएका छन्। यसैबीच, भरखरै भारतमा उपचार गरेर स्वदेश फर्किएका थापालाई राजनीतिमा अघि बढ्न नदिन नियोजित राजनीतिक खेल भएको अनुमानसमेत समर्थकहरूले गरेका छन्। सूर्यबहादुर थापाले यस निर्णयविरुद्ध जाने स्पष्ट संकेत दिएका छन्। उनले भने, “क्षेत्रीय कमिटीले आकांक्षी सबैको नाम माथिल्लो कमिटीमा पठाउनुपर्ने थियो, होइन भने विधिसम्मत चुनावी प्रक्रियामा जानुपर्थ्यो। एकलौटी ढंगले गरिएको यो निर्णयविरुद्ध म जिल्ला, प्रदेश र केन्द्रसम्म जानेछु।”

