धनगढी। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयलाई लिएर विवाद चर्किँदै गएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताउँदै आएका छन् भने संस्थापन पक्षका नेताहरू प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन सम्भव नभएको तर्क गर्दै आएका छन् । पार्टीभित्रको यो विवाद सुदूरपश्चिम प्रदेशमा झनै चर्किएको छ । विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको भनिएका नेताहरूले धमाधम हस्ताक्षर फिर्ता गर्ने घोषणा गर्न थालेका छन् । कैलालीका मात्रै सात जना महाधिवेशन प्रतिनिधिले लिखित रूपमा नै विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता गरेको जानकारी गराएका छन् ।
कैलाली क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधि रिता भण्डारीले देश निर्वाचनको तयारीमा प्रवेश गरिसकेको अवस्थामा विशेष महाधिवेशन आवश्यक नरहेको जनाउँदै हस्ताक्षर फिर्ता गरेको बताएकी छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको छ र राजनीतिक परिवर्तनपछि आमनिर्वाचनको घोषणा पनि भइसकेको छ । यस्तो अवस्थामा पार्टी एकजुट भएर निर्वाचन तयारीमा लाग्नुपर्ने जिम्मेवारी रहेकोले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता गरेकी छु ।’
यस्तै कैलाली क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि कर्णबहादुर चौधरी, दीपा बडायक, प्रेमबहादुर बिष्ट, शिवा थापा, बिसुदेवी बडुवाल र रंगबहादुर सुनारले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरू नियमित महाधिवेशनको पक्षमा रहेको स्पष्ट पारेका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि नभई सम्पूर्ण प्रक्रिया पूरा गरी नियमित महाधिवेशन गर्नुपर्ने मागसहित हस्ताक्षर गरेको बताएका छन् । उनीहरूको हस्ताक्षर विशेष महाधिवेशनको प्रस्तावमा प्रयोग गरिएको दाबी गरिएको छ । यसअघि नै कांग्रेस सुदूरपश्चिम प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका विक्रमसिंह धामीले विशेष महाधिवेशनका नाममा हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका थिए । दार्चुलाका धामी र महाधिवेशन प्रतिनिधि गोकर्णबहादुर चन्दले विज्ञप्ति जारी गर्दै हस्ताक्षरको दुरुपयोग भएको बताएका थिए ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यू र केन्द्रीय सदस्य डा. आरजु देउवाज्यू जेन–जी आन्दोलनका क्रममा आफ्नै निवासमा सांघातिक आक्रमणको अवस्थामा रहँदा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने परिकल्पना नै गर्न सकिँदैन । अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षरको दुरुपयोग भएको स्पष्ट गर्दछौँ ।’ धामी र चन्दको हस्ताक्षर पनि विशेष महाधिवेशनका लागि प्रयोग गरिएको बताइएको छ । यद्यपि सुदूरपश्चिम प्रदेशका करिब ३० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको दाबी गरिएको छ ।
पार्टीभित्रको यो विवादले आगामी महाधिवेशन र निर्वाचन तयारीमा थप अन्योलता सिर्जना गर्ने संकेत देखिएको छ ।

