कञ्चनपुर: सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी कञ्चनपुरको राजमार्ग क्षेत्रमा ‘ब्ल्याक स्पोट प्वाइन्ट’ बोर्ड राखिरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले पूर्व-पश्चिम महेन्द्रराज मार्ग क्षेत्रका बढी दुर्घटना हुने क्षेत्रमा ‘ब्ल्याक स्पोट प्वाइन्ट’ बोर्ड राखिरहेको हो। जिल्लाको वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका राजमार्ग क्षेत्रमा ‘समाधान दुर्घटना ग्रस्त।।।’ क्षेत्र भन्दै सचेतनामूलक बोर्ड राखिएको जनाएको छ।
कञ्चनपुरका ट्राफिक प्रहरी इन्चार्ज प्रहरी निरीक्षक बलेन्द्र नाथले पछिल्ला तीन वर्षमा सवारी दुर्घटना भएको स्थान विश्लेषण गरेर सचेतनामूलक बोर्ड राखिएको बताए । ट्राफिक प्रहरी इन्चार्ज नाथकाअनुसार सुडा, दैजी, अर्जुनी, कलुवापुर र वाणीबंकमा बोर्ड राखिएको बताए । ‘विगत तीन वर्षको दुर्घटनाक्रमलाई मध्यनजर गर्दै हामीले अब उपरान्त यात्रुलाई सजग गराउँदै दुर्घटनाबाट जोगाउन प्रवर्द्धनात्मक काम अघि बढाएका छौँ,’ उनले भने, ‘सवारी दुर्घटना भई मानिस घाइते, अंगभंगदेखि भौतिक क्षति न्यूनीकरण गर्ने प्रयास गरेका छौँ ।’
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम रानाले बढी दुर्घटना हुने स्थानमा बोर्ड राख्ने देशभर कार्यक्रमअन्तर्गत कैलाली, कञ्चनपुरमा पनि बोर्ड राख्ने काम जारी राखेको बताए । डिआइजी रानाले समुदायसँग मिलेर ट्राफिक प्रहरीदेखिका सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने बताए । कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुन साउदले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले गरेको प्रयास सह्रानीय रहेको बताए । अध्यक्ष साउदले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले गरिरहेको प्रयासमा स्थानीय सरकारले समेत साथ समर्थन समन्वय गर्ने बताए ।
वडाध्यक्ष साउदले सुप प्रदेशका प्रहरी प्रमुख रानासँग वाणीमा ‘क’ वर्गको प्रहरी चौकी स्थापनार्थ सहयोगका लागि ध्यानाकर्षण गराए। विगतमा पनि स्थानीयको मागअनुरूप प्रहरी चौकी निर्माण गरिएको बताउँदै अब स्थायी चौकी निर्माण गरेर स्तरवृद्धि गर्दै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन आह्वान गरेका छन् । अध्यक्ष साउदले कृष्णपुर–२, बनहरापुलदेखि मोहनापुलसम्मै लामो राजमार्ग भएकाले सिसिटिभी क्यामेरादेखिका राजमार्ग निगरानी गर्दै सवारी दुर्घटना न्यूनीकरणतर्फ प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

