धनगढी: कैलाली जिल्लामा पछिल्ला केही दिनदेखि बाक्लो हुस्सु लाग्न थालेको छ । पुस १ गतेदेखि निरन्तर कुहिरो लाग्न सुरु भएपछि जिल्लामा चिसोको महसुस उल्लेख्य रूपमा बढेको हो । यसअघिसम्म मौसम प्रायः सफा रहेकाले बिहान र साँझ घाम लाग्दा जाडो यामजस्तो अनुभूति खासै हुन सकेको थिएन । तर अहिले बाक्लो हुस्सु लागेसँगै तापक्रम घट्दै गएको र चिसो बढेको स्थानीयवासीले बताएका छन् । बिहान र साँझ विशेषगरी बाक्लो कुहिरो लाग्दा जनजीवनसँगै सवारी साधनको आवागमनसमेत प्रभावित हुन थालेको छ । पूर्व–पश्चिम राजमार्ग तथा भित्री सडकखण्डमा दृश्यता कम हुँदा सवारी चालकहरूलाई गाडी चलाउन कठिनाइ भइरहेको छ । कुहिरोका कारण बिहानको समयमा यात्रुहरूलाई समेत असहज अवस्था सिर्जना भएको छ ।
यद्यपि जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका बाँकी हिमाली भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सफा रहनेछ । यस्तै आज राति सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ । मौसम बुलेटिनअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाइएको छ । तर पश्चिम तराई क्षेत्रमा भने बिहान र साँझ हुस्सु लाग्ने क्रम जारी रहने अनुमान गरिएको छ ।
मौसमसम्बन्धी जानकारका अनुसार भारतको उत्तरप्रदेशसहित नेपालको पश्चिम तराई क्षेत्रमा अहिले बाक्लो हुस्सु लागेको हो । मौसमविद्हरूले आगामी केही दिनसम्म बिहान र साँझ कुहिरो लाग्ने तथा तराई क्षेत्रमा चिसो अझै बढ्ने बताएका छन् । विशेषगरी राति र बिहानको समयमा तापक्रम थप घट्न सक्ने उनीहरूको भनाइ छ । चिसोसँगै हुस्सु बढेपछि कैलालीका विभिन्न स्थानमा जनजीवन प्रभावित बन्न थालेको छ । खेतबारीमा काम गर्ने किसान, विद्यालय जाने बालबालिका तथा बिहान सबेरै काममा निस्कने मजदुरहरू बढी प्रभावित भएका छन् । चिसोका कारण बजार क्षेत्रमा पनि बिहानको चहलपहल कम देखिएको छ ।
स्वास्थ्यकर्मीहरूले चिसो र हुस्सुका कारण रुघाखोकी, ज्वरो, दम तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई न्यानो कपडा लगाउन, चिसोबाट जोगिन र आवश्यक सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।


