धनगढी: धनगढी जेसिज २०२६ को अध्यक्षमा महेश्वर ओझा निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्द्वी मनिस कुवरलाई ९ मतले पराजित गर्दै अध्यक्ष पदमा विजयी हासिल गरेका हुन्।
निर्वाचनमा जम्मा ९१ मत खसेको थियो। जसमा ओझाले ४९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कुवरले ४० मत पाए। २ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ। प्रतिस्पर्धात्मक र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचनलाई जेसिज सदस्यहरूले सकारात्मक रूपमा लिएका छन्।
अध्यक्षमा निर्वाचित भएलगत्तै ओझाले आफ्नो कार्यकालका लागि पदाधिकारी टिम घोषणा गरेका छन्। जसअनुसार महासचिवमा दिपक गौतम, कोशाध्यक्षमा आशिष शाह तथा कानुनी सल्लाहकारमा ललित बम्मलाई मनोनीत गरिएको छ।
यसअघि नै धनगढी जेसिजको कार्यकारिणी उपाध्यक्ष तथा उपाध्यक्ष पदहरूमा उम्मेदवारी निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ। यससँगै २०२६ कार्यकालका लागि जेसिजको नयाँ नेतृत्व टिम लगभग पूर्ण भएको छ।

नव–निर्वाचित अध्यक्ष ओझाले धनगढी जेसिजलाई नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा युवालाई उद्यमशीलतामा जोड्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सबै सदस्यको सहकार्य र सुझावका आधारमा संस्थालाई अझ सशक्त बनाउने बताए।
धनगढी जेसिजले हरेक वर्ष युवाहरूको नेतृत्व विकास, सामाजिक सेवा र समुदाय केन्द्रित कार्यक्रममार्फत धनगढी क्षेत्रमै महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। नयाँ नेतृत्व चयनसँगै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको छ


