धनगढी: तिहारको रमाइलो र उल्लासमय माहोलसँगै धनगढीमा यस वर्ष एउटा अनौठो र प्रेरणादायी देउसी भैलो अभियान सुरु गरिएको छ। ‘खान पुगोस, दिन पुगोस’ भन्ने मूल नारासहित सुरु गरिएको यस अभियानले संस्कृतिको संरक्षणसँगै समाजसेवाको भावनालाई जोड्ने प्रयास गरेको छ। धनगढीका विभिन्न टोल–टोलमा पुगेर स्थानीय युवाहरूको टोलीले देउसी भैलो खेलेर अशक्त, अशहाय, आश्रित तथा विपन्न परिवारका लागि सहयोग संकलन गर्न थालेका छन्। अभियानका संयोजक घनश्याम भट्टका अनुसार यो अभियानको मुख्य उद्देश्य तिहारजस्तो सांस्कृतिक पर्वलाई सेवाभाव र मानवीयताको पर्वमा रूपान्तरण गर्नु हो।
“देउसी भैलो हाम्रो संस्कृतिको महत्वपूर्ण हिस्सा हो। यसलाई केवल रमाइलोका रूपमा सीमित नगरी समाजमा सकारात्मक योगदान पुर्याउने माध्यम बनाउनु अहिलेको आवश्यकता हो,” — घनश्याम भट्ट, संयोजक, संकलित सहयोग रकम र सामग्रीहरूलाई पछि आर्थिक रूपमा कमजोर विद्यार्थी, आश्रित वृद्धवृद्धा, अशक्त नागरिक र विपन्न परिवारहरूलाई वितरण गरिने अभियानले जनाएको छ। उनीहरूलाई न्यानो कपडा, खाद्यान्न, झोला, कम्बल र दैनिक प्रयोजनका सामग्रीहरू उपलब्ध गराइनेछ।
गत वर्ष पनि सो टोलीले धनगढी उपमहानगरका विभिन्न वडामा पुगेर जाडो मौसमका लागि न्यानो कपडा वितरण गरेको थियो। यस वर्ष भने अभियानले देउसी भैलोमार्फत अझ ठूलो संख्यामा सहयोग जुटाउने लक्ष्य राखेको छ। धनगढीका युवाहरूको स्वेच्छिक सहभागितामा सुरु भएको यो अभियानमा स्थानीय व्यापारी, विद्यालय, संघ–संस्था र समुदायका अगुवाहरूले पनि सहयोग गर्न थालेका छन्। अभियानका सदस्यहरूका अनुसार तिहारका पाँचै दिन देउसी भैलो टोली विभिन्न बस्तीहरूमा पुग्नेछन् र संकलन भएको सहयोगलाई पारदर्शी रूपमा वितरण गरिनेछ।
अभियानले समाजमा ‘उत्सवसँगै उत्तरदायित्व’ भन्ने सन्देश फैलाएको छ। देउसी भैलोको परम्परालाई सेवा र सहकार्यको रूपले अगाडि बढाउने यो पहलले धनगढीका युवाहरूमा सामाजिक उत्तरदायित्वप्रतिको चेतना अझ मजबुत बनाएको छ।

