धनगढी– प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको आवश्यकता हिजोभन्दा आज झनै बढेको बताएका छन्।
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पाण्डेले देश र पार्टी दुबैमा स्थायित्व र अनुशासनको आवश्यकता रहेको बताउँदै ओलीको नेतृत्व अझै अपरिहार्य भएको धारणा राखे।
“हिजो देशमा अस्तिरता ल्याइयो, आज फेरि अस्तिरता ल्याउने प्रयास भइरहेको छ। यस्तो बेलामा पार्टीको केन्द्रको निर्णयविरुद्ध बाहिर बोल्न पाइँदैन,” उनले भने, “केपी ओलीको विकल्प खोज्न सकिँदैन, उहाँको आवश्यकता हिजोभन्दा आज बढी छ। उहाँको नेतृत्वमा एमाले थप उचाइ हासिल गर्छ।” पाण्डेले पूर्वराष्ट्रपति पार्टीभन्दा माथि हुनु पर्ने धारणा राख्दै, “पूर्वराष्ट्रपतिले सबैको अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ,” भन्दै पार्टी राजनीति बाहिर रहने नैतिक जिम्मेवारीबारे पनि संकेत गरे।
उनले प्रविधि र न्यू मिडिया मैत्री पत्रकारिता वर्तमान युगको आवश्यकता रहेको बताए । समयसँगै समायोजन हुने र समाजको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने पत्रकारिता स्थापित गर्ने र विश्वास सहितको सूचना बाँड्नु प्रेस चौतारीको मुल लक्ष्य हुनु पर्ने उनको भनाइ थियो ।


