धनगढी: १ फागुन २०७५ मा बसेको सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका नौ जिल्लामा नौवटा सडक योजनालाई गौरवका योजनाको रूपमा अगाडि बढाउने निर्णय गर्यो । निर्णय भएको ६ वर्षभन्दा बढी भइसकेको छ । ती सडकको निर्माण सम्पन्न भएको छैन । अहिले आएर तिनै गौरवका सडक योजनामा बजेटको अभाव भएको छ । प्रदेश सरकारले प्रदेश गौरवका सडकमा बहुवर्षीय ठेक्का लगाएको छ । तर, प्रदेशमा टुक्रे योजनाको संख्या बढी हुँदा गौरवका ती योजनामा बजेट अभाव भइरहेको हो ।
बैतडीको प्रदेश गौरवको योजना सतबाझ–श्रीभावर सडकअन्तर्गत २०७८/७९ मा ठेक्का लगाइएको श्रीभावर–हाट खण्ड गत आर्थिक वर्षको मसान्तसम्म सम्पन्न हुनुपर्ने थियो । तर, बजेट अभावले चालुआर्थिक वर्षमा समेत सम्पन्न नहुने देखिएको छ । साढे पाँच किलोमिटर लम्बाइ रहेको सो खण्डमा हालसम्म निर्माण कम्पनीले ७० प्रतिशत काम गरेको छ । तर, कार्यालयले निर्माण कम्पनी जगदम्बा बिल्डर्स प्रालिलाई ५५ प्रतिशत रकम मात्रै भुक्तानी गरेको छ । २० करोड ४२ लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा हालसम्म ११ करोड ३५ लाख रुपैयाँ भुक्तानी दिइएको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ ।
सो सडकको श्रीभावर–हाट खण्डमा नै आठ किलोमिटर सडक कालोपत्रे गर्नका लागि २०७६/७७ मै अर्को ठेक्का लगाइएको थियो । क्याब ग्वालेक जेभीलाई १३ करोड ७७ लाख ६८ हजार रुपैयाँमा ठेक्का दिइएको थियो । २०८० असार मसान्तभित्रै सम्पन्न हुनुपर्ने ठेक्कामा हालसम्म ८० प्रतिशत काम भएको छ भने सम्झौताको ७७ प्रतिशत रकम भुक्तानी गरिएको छ । सतबाझ–श्रीभावर सडकको १४ किलोमिटर कालोपत्रे गर्न र २० किलोमिटर स्तरोन्नति गर्न २०७९/८० अर्को ठेक्का छ । सो ठेक्काको प्रगति १५ प्रतिशत मात्रै छ । सम्झौता रकम ४८ करोड ८२ लाख रहेकोमा अहिलेसम्म १२ प्रतिशत भुक्तानी भएको छ ।
पूर्वाधार विकास कार्यालय बैतडीले नै दार्चुलाको प्रदेश गौरवको योजनामा रहेको देथला–खार–खलंगा सडकअन्तर्गत साढे आठ किलोमिटरको खलंगा–दल्लेक खण्ड र सवा आठ किलोमिटरको देथला–खार खण्ड कालोपत्रे गर्न ठेक्का लगाएको छ । तर, बजेट अभावले २०७५र७६ मा ठेक्का लगाइएको देथला–खार खण्डको ठेक्का अवधि गत असारमा सकिए पनि हालसम्म ७५ प्रतिशत मात्रै काम भएको छ । २०७८र७९ मा ठेक्का लगाइएको खलंगा–दल्लेक खण्ड थपिएको म्याद सकिए पनि काम भने ३५ प्रतिशत मात्र भएको छ ।
पूर्वाधार विकास कार्यालय बैतडीलाई प्रदेश गौरवको सडकका लागि बैतडीमा ५७ करोड ७५ लाख ७९ हजार र दार्चुलामा २० करोड २ लाख ७ हजार रुपैयाँ बजेट आवश्यक छ । तर, चालु आर्थिक वर्षमा बैतडीमा २५ करोड र दार्चुलामा १६ करोड रुपैयाँ मात्रै विनियोजन भएको कार्यालयका प्रमुख धीरेन्द्र भट्टले बताए । ‘बहुवर्षीय खरिद सम्झौता भएका योजनामा आवश्यक बजेट विनियोजन नहुँदा योजना निर्माणमा ढिलाइ भइरहेको छ,’ उनले भने ।
डडेल्धुराको प्रदेश गौरवको योजना दैजी–जोगबुडा–सलौन–चिरकट्टे–पोखरा–ढुंगाड सडकअन्तर्गत छवटा ठेक्का लगाइएको छ । १ अर्ब ३२ करोड ३५ लाख ५७ हजार रुपैयाँमा लगाइएका ती ठेक्काहरूमध्ये दुई ठेक्काको म्याद गत चैतमा सकिएको छ । एक ठेक्को म्याद आउँदो असार, दुई ठेक्काको भदौ र एक ठेक्काको म्याद २०८३ असारमा सकिँदै छ । ती ठेक्काका लागि चालु आर्थिक वर्षमा २३ करोड विनियोजन भए पनि ५ करोड ३० लाख १६ हजार रुपैयाँ बजेट कम पर्ने पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख नवराज रावलले बताए ।
डोटीको प्रदेश गौरवको योजना सजपुर–बोगटान–दिपायल सडकमा पनि बहुवर्षीय ठेक्का छ । ६५ करोड ७८ लाख ३७ हजारमा २०७९/८० मा ठेक्का सम्झौतामा भई थपिएको म्याद २०८३ असारमा सकिँदै छ । हालसम्म सो ३५ करोड १४ लाख ५१ हजार रुपैयाँ खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा उक्त सडकका लागि २१ करोड रुपैयाँ विनियोजन भए पनि १४ करोड ८० लाख ३४ हजार रुपैयाँ खर्च भएको पूर्वाधार कार्यालयले जनाएको छ । सो सडकमा आगामी आर्थिक वर्षमा ठेक्का सम्पन्न गर्न ५ करोड २८ लाख ९१ हजार रुपैयाँ आवश्यक पर्ने इञ्जिनियर रावलले बताए ।
पूर्वाधार विकास कार्यालय अछामले अछाम र बाजुरामा सञ्चालन गरेको प्रदेश गौरवका सडक र अन्य बहुवर्षीय आयोजनाको ठेक्काको म्याद सकिए पनि निर्माण पूरा भएका छैन । ती आयोजनाहरू निर्माणका लागि ३ अर्ब ९५ करोड ९५ लाख १५ हजार रुपैयाँमा १९ वटा ठेक्का सम्झौता भएको थियो । सो ठेक्काबापत २ अर्ब २ करोड ४१ लाख ३२ हजार रुपैयाँ भुक्तानी भएको र आगामी आर्थिक वर्षमा १ अर्ब ३६ करोड ९४ लाख ७ हजार रुपैयाँ आवश्यक रहेको पूर्वाधार कार्यालय अछामले जनाएको छ ।
बझाङ जिल्लामा प्रदेश गौरवको सडकमा बहुवर्षीय ठेक्का लगाइएको छ । ठेक्काको म्याद सकिए पनि औसत भौतिक प्रगति ७९ प्रतिशत छ ।


