परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । सोमबार साँझ भारतको नयाँदिल्ल्लीमा भएको भेटवार्ताका क्रममा उनले मोदीलाई नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेकी हुन् । करिब आधा घण्टा भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको निमन्त्रणापत्र मन्त्री राणाले मोदीलाई हस्तान्तरण गरेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
भेटवार्तामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री राणाबाहेक भारतका लागि नेपालका कार्यवाहाक राजदूत सुरेन्द्र थापालगायतसमेत सहभागी थिए । यस्तै भारतको तर्फबाट विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवललगायत सहभागी थिए । भेटपछि मोदीले नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।
यस्तै भेटवार्तापछि राणाले मोदीसँग नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको जानकारी दिइन् ।
नेपालको परराष्ट्रमन्त्रीका रुपमा आफ्नो भारत भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट दुई देशबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा लिएको राणाले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएकी छन्।
सोमबार नै राणाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन् । यसैबीच परराष्ट्रमन्त्रीले आफ्नो भारत भ्रमणका क्रममा हवाई रूट र पञ्चेश्वर परियोजनाबारे छलफल गरेकी छन् छ । परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबिच सोमबार भएको भेटवार्तामा हवाई रूट, पञ्चेश्वर परियोजना, सीमा सुरक्षा, ऊर्जा लगायतका विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

