धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाले कार्यालय भन्दा बाहिरका ब्यक्ती र संस्थालाई १९ लाख बढीको इन्धन बाँडेको छ । आर्थिक बर्ष २०७९/८० मा नगरपालिकाले १९ लाख ३२ हजार ६ सय ९० रुपयाँको इन्धन बाँडेको हो । महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार घोडाघोडी नगरपालिकाले कार्यालय बाहिरको संस्था, निकाय, पत्रकार र ब्यक्तीलाई डिजेल तथा पेट्रोल वितरण गरी १९ लाख ३२ हजार ६ सय ९० खर्च गरेको छ ।
प्रतिवेदन अनुसार पालिकाले पेश गरेको बिवरण अनुसार आफ्नो कार्यक्षेत्र भन्दा बाहिरको कार्यालय, निकाय, राजनिति, पदाधिकारी, पत्रकार तथा संघ संस्थाको लागी बजेट खर्च गर्दा बजेटमा मित्तब्ययीता र प्रभावकारीता कायम भएको देखिदैन । पालिकाले यस प्रकृतीको खर्चले थप ब्ययभार बढ्दै जाने देखिन्छ । महालेखाले असम्बन्धित ब्यक्ती र संस्थालाई भएको खर्च नियम सम्मत नभएको भन्दै खर्च नियमसम्मत गर्नुपर्ने सुझाएको छ ।
जनप्रतिनिधीलाई साढे चार लाख पोसाक भत्ता
घोडाघोडी नगरपालिकाले ऐन बिपरित स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुलाई पोसाक भत्ता बाँडेको छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा नगरपालिकाले ४ लाख ४५ हजार ९ सय ४० रुपयाँ पदाधिकारी तथा सदस्यहरुलाई पोसाक भत्ता दिएको छ । पदाधिकारी तथा सदस्यहरुको सुबिधा सम्बन्धी ऐन २०७५ मा स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुबिधा सम्बन्धी ब्यवस्था छ । ऐनमा स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुलाई पोसाक सम्बन्धी सुबिधाको ब्यवस्था गरेको छैन । सो ऐन बिपरित पालिकाले २० हजार २ सय ७० रुपयाँको दरले २२ जना पदाधिकारी तथा सदस्यहरुलाई ४ लाख ४५ हजार ९ सय ४० रुपयाँ बाँडेको छ । महालेखाले यसरी ऐनले तोके भन्दा बढी सुबिधा दिने कार्य नियन्त्रण गर्नुपर्ने सुझाव दिएको छ ।


